Butwal Sandesh

Best Nepali Online Newspaper

संसद् पुनःस्थापनापछि सरकार झन् बलियो : नेम्वाङ

Spread the love

काठमाडौँ — नेकपा ओली समूहका नेता सुवास नेम्वाङले संसद् पुनःस्थापनापछि सरकार झन् बलियो भएको बताएका छन् । नेकपा ओली समूह निकट सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्वाङले संसद् विघटन हुँदा कामचलाउ भएका प्रधानमन्त्री ओली पुनःस्थापना पछि दह्रो भएको बताएका हुन् । प्रतिनिधिसभा विघटन भएपछि सरकारलाई कामचलाउ भन्नेहरुलाई अहिले सरकार दह्रो हुँदा अप्ठेरो परेको टिप्पणीसमेत उनले गरे ।

‘हिजो पुनःस्थापना नहुँदासम्म केपी ओली त केयरटेकर हो, निर्वाचन घोषणा गरिराखेको छ । निर्वाचन घोषणा गरिराखेको प्रधानमन्त्रीले यो के-के निर्णय गर्ने हो ? निर्णय गर्न पाउँदैन यो कामचलाउ सरकारको प्रधानमन्त्री भन्ने गर्नुहुन्थ्यो जुन कुरा ठीक थिएन, यो ठीक होइन भनिराथ्यौं । अब त त्यो दुःख पनि गर्न नपर्ने भयो,’ उनले भने, ‘संसद् पुनःस्थापित भयो प्रधानमन्त्री केपी ओली विरुद्धको अविश्वास लगायतका कुराहरु के छ स्थिति मैले तपाईंहरुलाई बताई नै सके उहाँ त हिजोभन्दा झन् दह्रो पो हुनुभयो ।’

प्रतिनिधिसभा पुनःस्थापना भएपछि अविश्वासको प्रस्ताव ल्याउने हल्ला सुनिएको भन्दै नेम्वाङले सरकारले प्रस्तावको सामना गर्ने बताए । अविश्वास प्रस्ताव फेल भएमा सरकार फेरि एक वर्ष चल्न पाउने व्यवस्थाले विपक्षीहरुलाई प्रस्ताव ल्याउन नै डर लागेको पनि नेता नेम्वाङको भनाइ थियो । ।

उनले कानुनी रुपमा नेकपा विभाजन भइनसकेको पनि बताए । पार्टी एकीकृत भएपछि निर्वाचन आयोगलाई दिएको कागजमा नै पहिलो अध्यक्ष केपी ओली र दोस्रो अध्यक्ष प्रचण्ड भनेर लेखिएको टिप्पणीसमेत गरे । ‘हामीले भनिराखेका छौं । नेकपामा विभाजन छैन । हामीले त्यो बोलिराखेका छौं । हाम्रो प्रथम अध्यक्ष केपी ओली हुनुहुन्छ । कागजकै कुरा गर्ने हो भने दोस्रो अध्यक्ष प्रचण्ड हुनुहुन्छ । हाम्रा वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र महासचिव विष्णु पौडेल हुनुहुन्छ । हामीले कसैलाई कारबाही गरेका छैनौं । त्यसैले हामीले भनेका छौं हामी एकताको पक्षमा छौं’, उनले भने । – ekantipur.com बाट।

Leave a Reply

Your email address will not be published. Required fields are marked *