Butwal Sandesh

Best Nepali Online Newspaper

९० सांसदले प्रधानमन्त्रीविरुद्ध दर्ता गराएका थिए अविश्वास प्रस्ताव, यही कारण भयो संसद विघटन

Spread the love

काठमाडौं : आज बिहान संसद सचिवालयमा ९० जना सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको खुलेको छ।

आइतबार बिहान सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका ९० जना सांसदहरुले प्रधानमन्त्री ओली विरुद्धको अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। प्रस्ताव दर्ता गराएको सुइको पाएका ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएका थिए। उक्त बैठकबाट उनले संसद नै विघटन गर्ने सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष गरेका थिए। भण्डारीले पनि सरकारले सिफारिस गरेको केही घण्टामा नै संसद विघटन गरेकी थिइन्।

अविश्वासको प्रस्तावमा दर्ता समय विहान १० बजेर ५० मिनेटको रहेको बताइएको छ। तर संसद सचिवालयले सो समय सच्याएर ३ बजेर ३० मिनेटमा दर्ता भएको बताएको छ ।

अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको जानकारी पाउनसाथ एकलौटी रुपमा प्रधानमन्त्रीले गरे संसद विघटनको निर्णय
सरकारले संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतवार आकस्मिक रुपमा बालुवाटारमा बसेको क्याविनेट बैठकले यस्तो निर्णय गरेको हो।

केही मिनेटका लागि चलेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको निर्णय सुनाएर निस्किएका हुन्। यस विषयमा मन्त्रीहरुबीच छलफलसमेत नभएको एक मन्त्रीले जानकारी दिए।

‘उहाँ आउनुभयो। निर्णय सुनाउनु भयो, जानुभयो,’ ती मन्त्रीले भने, ‘हामीसँग यस विषयमा छलफल नै भएन।’

यता प्रधानमन्त्रीको सचिवालय स्रोतले प्रधानमन्त्री विरुद्ध अविस्वासको प्रस्तावको तयारी भइरहेको कारण संसद विघटनको निर्णय भएको जनाएको छ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई हटाउनका लागि नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले संसदको हस्ताक्षर अविस्वासको प्रस्ताव बोकेर हिँडिरहेको र संसद सञ्चालन हुना साथ दर्ता गर्ने तयारी गरिरहेको जानकारी प्रधानमन्त्रीले प्राप्त गर्ना साथ विघटन गर्ने निर्णयमा प्रधानमन्त्री पुगेका हुन्।

यस विषयमा शर्मासँग बुझ्न खोज्दा आफू छलफलमा रहेको र यस विषयमा पछि विस्तृतमा बताउने जानकारी दिए।

पूर्व माओवादी समूहका मन्त्रीहरुले भने निर्णय सुनाइएको तर यसमा आफूँहरुको सहमति नभएको बताएका छन्।

भारतको इशारामा ओलीलाई काम गर्न दिइएन, संसद विघटनको विकल्पै थिएन : नारायणमान बिजुक्छे
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेले सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्नु स्वभाविक रहेको बताएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि भादगाउँ टेलिभिजनमा प्रतिक्रिया दिँदै उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादले अहिलेको परिस्थिति सिर्जना भएको बताएका हुन्।

पार्टीभित्र सरकारलाई काम गर्न नदिएको, भ्रष्टाचारी, कालोबजारीलाई बचाउन पार्टीभित्र दबाब, संवैधानिक निकायमा भागबन्डा लगायतका मतभेदका कारण केपी शर्मा ओली सरकारलाई काम गर्न बाटो रोकिएकोले देशलाई जोगाउन संसद विघटन गरेर नयाँ निर्वाचनमा जानु रहेको बिजुक्छेले बताएका हुन्।

संसद घोषणा गरेर निर्वाचनको मिति जारी गर्नुलाई आफूले स्वभाविक प्रक्रियाको रुपमा लिएको उनको भनाइ थियो। ‘देशमा जसरी पहिला संसदहरु विघटन भए मैले यसलाई पनि यही प्रक्रियाको निरन्तरताको रुपमा लिएको छु,’ बिजुक्छेले भने।

संवैधानिक रुपमा संसद विघटनको विषयमा धेरै व्याख्याहरु हुने भन्दै उनले भने, ‘संविधानमा दोषहरु छन्। अविश्वासको प्रस्ताव, विश्वासको मत लिनुपर्ने लगायका चरणहरु संविधानमा छ। प्रधानमन्त्रीलाई काम गर्ना नदिने गरी बाधिएको हुन्छ। त्यस्तो अप्ठेरो स्थितिमा काम गर्न नसकिने भएकोले ओलीले नयाँ कदम लियो। त्यो औचित्यतता पूर्ण छ। कानूनले मिल्छ मिल्दैन भन्ने कुरा पछि अदालतले हेर्छ।’

प्रधानमन्त्रीलाई यो कदम चाल्न ओलीका विरोधीहरुले बाध्य पारेको उनले बताए।

‘ओलीका विरोधीहरु कहाँबाट संचालित छन् भनेर भन्नुपर्दा यसमा भारतको हात छ,’ उनले भने। भारतकै इशारामा विरोधीहरुले ओलीलाई काम गर्न नदिएको भन्दै उनले ओली अन्तिमसम्म लड्ने विश्वास व्यक्त गरे।

भने, ‘कमजोर छ भने उसले राजीनामा दिएर भाग्छ। आफूमा विश्वास छ भने अन्तिमसम्म लड्छ।’

दुई अध्यक्ष प्रणालीका कारण पनि यो अवस्था आएको भन्दै उनले भने, ‘एउटै मेचलाई दुवै तिर तान्न लगाएपछि मेच भाँच्नु स्वभाविक हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *