Butwal Sandesh

Best Nepali Online Newspaper

डिसेम्बर १ तारिखदेखि बेलायतले खोल्यो वर्क पर्मिट

Spread the love

लन्डन — बेलायत सरकारले डिसेम्बर १ तारिखदेखि अंकमा आधारित भिसा प्रणाली सुरु गरेको छ । बेलायतले युरोपेली संघ (ईयू) छाडेपछि संसारभरिका प्रतिभावान तथा दक्ष कामदार भित्र्याउन नयाँ प्रणाली सुरु गरेको अधिकारीहरुले जनाएका छन् ।

ईयू मुलुकका बासिन्दालगायत सबै विदेशी नागरिकहरुले १ डिसेम्बर २०२० देखि नै आवेदन दिन पाउनेछन् र आउँदो जनवरी १, २०२१ देखि बेलायतमा काम गर्नका लागि अनुमति दिइनेछ । अनलाइनबाट भिसा आवेदन गर्न सकिने छ । दक्ष कामदार भिसाका लागि रोजगारदाताबाट जागिरको अफर, अंग्रेजीमा निपुण र कमाइ वार्षिक न्यूनतम २५ हजार ६ सय पाउण्ड हुन अनिवार्य छ ।
आवेदकले आफ्नो पहिचान प्रमाणित र कागजात उपलब्ध गराउनु पर्नेछ । आप्रवासी कामदारहरुले भिसाका लागि योग्य हुन कुल ७० अंक ल्याउनु पर्नेछ जसमा मान्यताप्राप्त रोजगारदाताबाट दक्ष सीपयुक्त जागिरको अफरले ४० अंक, अंग्रेजी भाषाबाट १० अंक र वार्षिक तलब कम्तीमा २५ हजार ६ सय हुँदा २० अंक प्राप्त गर्न सक्नेछन् । भिसा आवेदन शुल्क ६१० देखि १ हजार ४ सय ८ पाउण्ड, हेल्थकेयर सरचार्ज ६२४ पाउण्ड (प्रतिवर्ष) र आफ्नो खर्चका लागि कम्तीमा एक हजार २ सय ७० पाउण्ड सञ्चित हुनुपर्नेछ ।

बेलायत बाहिरका आवेदकलाई सबै प्रक्रिया पूरा गरेपछि भिसाको निर्णय तीन साताभित्र दिइने र भिसा अवधि ५ वर्षसम्म हुने सरकारले जनाएको छ ।

गृहमन्त्री प्रीति पटेलले सरकारले ईयूसँग खुल्ला आवतजावत अन्त्य, आफ्नो सीमा नियन्त्रण फिर्ता र नयाँ अंकमा आधारित अध्यागमन प्रणाली लागू गर्ने प्रतिज्ञा पूरा गरेको बताएकी छन् । एक विज्ञप्तिमा उनले सामान्य, प्रभावकारी र लचिलो यो प्रणालीले रोजगारदातालाई आवश्यकताअनुसार दक्ष जनशक्ति भर्ना गर्न र बेलायतको ‘वर्क फोर्स’ लाई प्रशिक्षित र लगानी गर्न प्रेरित गर्ने बताइन् ।

३१ डिसेम्बरमा ब्रेक्जिट (बेलायत ईयूबाट बहिगर्मन) को संक्रमणकालीन अवधि अन्त्यसंगै बेलायत ईयू खुल्ला आवतजावत बन्द हुँदैछ । १ जनवरीदेखि युरोपेली र अन्य मुलुकका नागरिकका लागि समान अध्यागमन नियम लागू हुनेछ । बेलायत ईयू सदस्य हुँदा युरोपेली नागरिकलाई बेलायतमा चाहेजति बस्न र काम गर्न अधिकार थियो ।

सरकारले भिसाका अरु रुट पनि खुल्ला गरिएको जनाएको छ । इन्जिनियरिङ, विज्ञान, प्रविधि, मानवशास्त्र, मेडिसिन, कला र संस्कृतिका क्षेत्रमा असामान्य प्रतिभा भएका व्यक्तिलाई ग्लोबल ट्यालेन्ट भिसा र व्यवसायिक दक्षता एवं नयाँ सिजनात्मक सोच भएका व्यक्तिलाई इनोभेटर र स्टार्ट अप भिसाको रुट पनि खोलिएको छ ।

विश्वभरका अन्तर्राष्ट्रिय विद्यार्थीका लागि भने गत ५ अक्टोबर, २०२० मै खुल्ला भइसकेको थियो ।

सरकारको नयाँ घोषणाले नेपालबाट पनि दक्ष जनशक्ति बेलायत आउने बाटो खुलेको छ । ‘उच्च दक्ष व्यक्तिलाई बेलायत आउने यो राम्रो अवसर हो,’ लन्डनका एकजना सोलिसिटर राजु थापा भन्छन्, ‘ईयूसँग अलग्गिएपछि बेलायतले दक्ष जनशक्ति अभाव पूरा गर्न यो रणनीति ल्याएको देखिन्छ ।’

बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक एवं ब्यारिस्टर प्रा. डा. सूर्यप्रसाद सुवेदी (क्यूसी) बेलायतमा संसारका उत्कृष्टमध्येका विश्वविद्यालय र कला एवं संस्कृतिको अनुपम संगम भएको मुलुक भएकाले यहाँको जीवनप्रति मानिस आकर्षित हुनु स्वभाविक भएको बताउँछन् । ‘यहाँ प्रतिस्पर्धा र गुणात्मक क्षमताको भरमा सबैले प्रगति गर्न सक्ने वातावरण छ’, सुवेदीले कान्तिपुरसँग भने, ‘बेलायत एउटा खुला समाज हो जुन विस्तारै इन्द्रेणी मुलुकमा रुपान्तरित हुँदैछ । कानुनबमोजिमको शासन र संसदीय प्रजातन्त्रको जननी मुलुक भएकाले यो देश विश्वकै रोजाइमा छ ।’ – ekantipur.com बाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *