Butwal Sandesh

Best Nepali Online Newspaper

जुम्लामा १९औं अनसन बसेका डाक्टर केसीको स्वास्थ्य अवस्था बिग्रिँदै

Spread the love

चिकित्सा क्षेत्र सुधारका विभिन्न माग राखेर डाक्टर गोविन्द केसी अनशन बस्न थालेको ८ वर्ष भयो। ८ वर्षको अवधिमा केसी अहिले १९ औं पटकको अनशनमा छन्। हरेक अनशनमा डा केसीलाई कुनै न कुनै दल या समूहको ‘ट्याग’ लगाउनेहरु सक्रिय हुन्छन्। र, हरेक दल सरकारमा पुगेपछि गोविन्द केसीलाई सत्रुशक्तिका रुपमा बुझ्न थाल्छ।

केसीको पहिलो अनशन थियो – २०६९ असार २१ गतेदेखि। पहिलो अनशन ५ दिनमा नै सकियो। ४ बुँदे माग राखेका केसीको प्रमुख माग त्रिविको हस्तक्षेपबाट आइओएम’लाई मुक्त गर भन्ने थियो। अहिले उनी जुम्लाबाट १९ औं अनसन बसिरहेका छन् । ५ दिनअगाडीदेखि अनसन बसेका केसीको स्वास्थ्य अवस्था बिग्रिन थालेको उनका सहयोगीहरुले बताएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायतका कार्यक्रम संचालन गरिनुपर्ने, स्नातकोत्तर तहको अनुमति तत्काल पदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठन पाठन सुरु गरिनुपर्ने, प्रदेश नं २ र गण्डकी प्रदेश तथा डोटी,डेडेलधुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल प्रक्रिया अघि बढाइनुपर्ने माग राखेका छन्।

आफूसँग २०७५ साउन १० गते भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संसोधन गरिनुपर्ने लगायतका मागहरु राखेर डा.केसीले अनसन सुरु गरेका हुन् । उनले १६ औं सत्याग्रह पनि जुम्लामा गरेका थिए । पहिलाको सत्याग्रहका बेला गरिएका सम्झौताहरु अहिलेसम्म पनि सरकारले कार्यान्वयन नगरेकाले आफू अनसन बस्न वाध्य भएको बताए ।

उनका सहयोगीले डाक्टर केसीको पछिल्लो स्वास्थ्य अवस्थाबारे एक विज्ञप्तिमार्फत जानकारी दिएका हुन् । डा केसीलाई कमजोरी, चक्कर लाग्ने, मुटुको चाल बढ्न थालेको, मांसपेसी बाउडिने, छाती दुख्ने, सास फेर्न गाह्रो हुने, पिसाबको मात्रामा कमी आएको र प्रेसर कम हुँदै गएको जनाइएको छ ।

उनी अनसनमा बसेपछि डाक्टर प्रवीणकुमार गिरी, डाक्टर अनुप मंगल समाल र सनिना थापा लगायतले डा केसीको स्वास्थ्य जाँच गरिरहेको छ ।

डा केसीको रगतमा चीनीको न्यून भइ प्रमूख अंगहरुमा जटिल समस्या देखिन सक्ने र रोग प्रतिरोधात्मक क्षमता कम हुँदा संक्रमणको खतरा रहेको स्वास्थ्य निगरानीमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

५ दिनदेखि विभिन्न माग राख्दै अनसनरत डा केसीले रगत परीक्षण गर्न नमानेको र नशाबाट सलाईन लिन तथा अस्पताल जान नमानेको उनको सहयोगीहरुले बताएका छन् । केसीको अनसनलाई ऐक्यवद्धता जनाउँदै केही युवाहरु पम्पलेट लिएर सोही स्थानमा बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *