सन्दीपले दुई विकेट लिएपछि जमैकाले महत्वपूर्ण जित आफ्नो कब्जामा पार्यो
क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी-२० क्रिकेट प्रतियोगितामा जमैका तलावाजले तेस्रो जित हात पारेको छ।
जमैकाले शनिबार मध्य रातमा भएको खेलमा सेन्ट किट्सलाई ३७ रनले पराजित गरेको हो।
पहिले ब्याटिङ गरेको जमैकाले ६ विकेटको क्षतिमा १४७ रन जोड्यो।
उसका लागि ओपनर ग्लेन फिलिप्सले सबैभन्दा बढी नटआउट ७९ रन जोडे। उनले ६१ बलमा २ चौका र ६ छक्का प्रहार गरे। जर्मिन ब्ल्याकउडले २७ रनको योगदान दिए।
बलिङमा सेन्ट किट्सका रायद इमरिटले ३ विकेट लिए।
१४८ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स १९.४ ओभरमा ११० रनमै अलआउट भयो।
उसका लागि इभिन लेविस र केइरन पावेलले सबैभन्दा बढी २१-२१ रन जोडे। अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।
बलिङमा जमैकाका कार्लोस बाथवेटले ३ विकेट लिए। नेपाली स्पिनर सन्दीप लामिछाने, फिडेल इडवार्ड र विरास्वामी पेरमलल २-२ विकेट लिन सफल भए। सन्दीपले ४ ओभरमा २७ रन खर्चिए। उनले १२ बल डट फ्याँक्दा १ चौका र २ छक्का दिए।
सन्दीपले जारी प्रतियोगिता लगातार छैटौं खेलमा विकेट लिएका हुन्। उनले तीन खेलमा २-२ विकेट लिएका छन् भने तीन खेलमा १-१ विकेट हात पारेका छन्। जससँगै उनले ६ खेलबाट ९ विकेट लिन सफल भए।
जितसँगै ६ अंक जोडेको जमैका अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानको ट्रिन्बागो नाइटराइडर्सको १२ अंक छ भने दोस्रो स्थानको लेस्ट लुसियाले ८ अंक जोडेको छ।