अब धरान उपमहानगरपालिकामा बेरोजगार बस्न पर्दैन

धरानः धरानमा बेरोजगारलाई रोजगार कार्यक्रम शुरू भएको छ । यहाँ ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ शुरू भएको हो ।
धरानमा सशर्त अनुदानअन्तर्गत ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ आएको हो । उपमहानगरपालिकाले बेरोजगार व्यक्तिका लागि साउन ८ देखि भदौ ७ गतेसम्म न्युनतम रोजगारीका लागि फर्म भर्न आह्वान गरिसकेको छ । यस्तै, उपमहानगरपालिकाले सबै वडामा बेरोजगार व्यक्ति सूचीकरण गरियोस् भनी पत्राचार गरिसकेको जनाएको छ ।
अघिल्लो वर्ष १० लाख रूपैयाँको बजेट आएको थियो । तर यसपटक बढेर ५१ लाख ७० हजार रूपैयाँ बढी अनुदान बजेट आएको हो । ‘अघिल्लो वर्ष १० लाख रूपैयाँ बजेट आएको थियो तर काम गर्न सकिएन’, उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले भने, ‘तर अब आएको बजेटलाई सही ठाउँमा प्रयोग गर्छौंं, शुरूदेखि नै काम थालनी गर्न लागिपरेका छौं ।’ श्रममा आधारित कार्यक्रमअन्तर्गत यो बजेट आएको हो । ‘अहिले प्रत्येक वडामा फारम भर्नका लागि भनिसकेका छौं, श्रमिक, योजना छनौटको काम गरिसकेपछि यो बजेट खर्च हुनेछ ।’
आवेदन आह्वान गरिएको उनले जानकारी दिए । उनले एकल महिला, विपन्न वर्ग, सीमान्कृत समुदायका बेरोजगार पहिलो प्राथमिकतामा पर्ने पनि जानकारी दिए । उनले भने, ‘कामदार छनोट गर्दा व्यक्तिको पारिवारिक, आर्थिक र शैक्षिक अवस्थाका आधारमा छनोट गरिनेछ ।’ उनले धरानमा लकडाउनका कारण म्याद थपिने पनि बताए ।
दैनिक आठघण्टा काम गर्ने कामदारले निवेदन दिनसक्ने उनले जानकारी दिए । उनले आन्तरिक रोजगारी र उद्यमशीलताको प्रवद्र्धन गरी वैदेशिक रोजगारीको बढ्दो निर्भरतालाई कम गर्ने कार्यक्रमको उद्देश्य रहेको बताए । स्थानीयस्तरमा विकास निर्माण कार्यमार्फत् सार्वजनिक पुँजी निर्माण गरी स्थानीय जनताको जीवनस्तर सुधार गर्न यो कार्यक्रमले मद्दत पुरयाउने उनले दावी गरे । अहिले केहीले फर्म समेत भरिसकेको उनले जानकारी दिए ।
कति वर्ष उमेर समूहकाले फर्म भर्न पाउँछन् ?
यसअन्तर्गत ०७७–०७८ सालका लागि १८ देखि ५९ वर्षसम्मका धरान निवासी नेपाली नागरिकहरूले न्यूनतम रोजगारका लागि फारम भर्नुपर्ने हुन्छ ।
फर्म भर्न के के चाहिन्छ ?
नागरिकताको फोटोकपी एकथान र पासपोर्ट साइजको फोटो दुईवटा चाहिन्छ र सम्बन्धित वडा कार्यालयमा गएर फर्म भर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *