Butwal Sandesh

Best Nepali Online Newspaper

सम्पत्ति ह*त्याउन जिउदो मान्छेलाई कागजमा मृ*त घोषणा

Spread the love

काठमाडौँ – बालाजुकी ६४ वर्षीया लक्ष्मी पुतुवार फागुन १४ गते नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगिन्। तर त्यहाँ उनको नागरिकता नबन्ने अवस्था आयो। किनकि वडाको सिफारिस आवश्यक भए पनि उनले लगेकी थिइनन्। उनले त आफैंलाई मृ*त भनेर अर्कैले झन्डै २५ वर्षअघि बनाएको मुचुल्काको कागजमात्र बोकेकी थिइन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

सहायक प्रजिअ तुलसी पौडेलले उनको मुचुल्काको फाइल पल्टाए। जीवित मान्छेलाई कागज (सर्जिमिन) मा मृ*त भनेर घोषणा गरिएको पाइएपछि लक्ष्मीसँग आवश्यक सोधपुछ भयो। लक्ष्मीले आफ्नो नागरिकता नबनेको र कागजमा आफूलाई मृ*त भनेर लेखिएको बताइन्। ‘हाउभाउ र बयानबाट उहाँ पीडित नै देखिनुहुन्छ। कागजी रूपमा भने मृ*त घोषणा गरिएको छ,’ सहायक प्रजिअ पौडेलले भने, ‘यो गम्भीर विषय हो। यसबारे हामी अनुसन्धान गर्छौं।’

२०१२ सालमा जन्मिएकी लक्ष्मीको हालसम्म नागरिकता बनेको छैन। नागरिकताका लागि सहायता लिन उनी पाँच महिनाअघि बालाजु प्रहरी कार्यालय र आफ्नो बसोबास रहेको वडा १६ को कार्यालयमा पुगेकी थिइन्। तर वडाले सिफारिस दिन मानेन। त्यसपछि उनी फाइल बोकेर जिल्ला प्रशासन कार्यालय आएकी थिइन्।

फाइलमा लक्ष्मीसहित मृ*त भनेर चारजनाको नाम उल्लेख छ। लक्ष्मीका पति, छोरा, बुहारीको मृ*त्यु भइसकेको छ। त्यसैमा जोडेर लक्ष्मीलाई पनि मृ*त भनेर मुचुल्का बनाइएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार आफन्तले घरजग्गा आफ्नो बनाउन यस्तो प्रपञ्च रचेका थिए। लक्ष्मीका निकट आफन्त छैनन्। छोरा, बुहारी, पति र सासू, ससुराको मृ*त्यु भएपछि उनका देवर वाउने पुतुवार र अन्य छिमेकीको मिलोमतोमा किर्ते कागजात बनाइएको हुनसक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रजिअ जनकराज दाहालले यस्तो प्रकृतिको समस्या अनौठो रहेको बताए। उनका अनुसार उक्त मुचुल्का २०४९ असोज २२ गते बनाइएको थियो। तत्कालीन काठमाडौं महानगरपालिका– १६का सचिव नासु राम उपाध्यायले उक्त मुचुल्कामा हस्ताक्षर गरेका छन्। यसबाहेक अन्य स्थानीय तथा राजीतिक व्यक्तिहरू भीमदास मानन्धर, प्रेमकुमार थापा, श्याम फुयाँल, ईश्वर थापा, प्रेमकृष्ण मानन्धरलगायतले हस्ताक्षर गरेका छन्।

जिल्ला प्रशासन कार्यालयले फागुन १५ गते उक्त बेहोरा सर्जिमिनका लागि महानगरीय प्रहरी वृत्त बालाजु पठाएको छ। प्रहरीले प्रारम्भिक विवरण पठाएपछि यसबारे आवश्यक अनुसन्धान गरिने प्रशासनले जनाएको छ। ‘यथार्थ बेहोरा बुझ्न हामीले मुचुल्का र अन्य कागजात प्रहरीमा पठाएका छौं। किर्ते रहेछ भने त्यस सम्बन्धमा कारबाही थाल्छौं,’ प्रजिअ दाहालले भने। उनका अनुसार प्रहरीको सर्जिमिन रिपोर्ट भने आएको छैन। रिपोर्टपछि उनको नागरिकता बनाउन कार्यालयले सहायता गर्नेछ। तर अहिले लकडाउन भएका कारण जिल्ला प्रशासनले यसबारे कुनै प्रक्रिया अघि नबढाएको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *