Butwal Sandesh

Best Nepali Online Newspaper

आहा रारा गोल्डकप: आयोजकलाई हराउँदै पुलिस सेमिफाइनलमा

Spread the love

शनिबार पोखरा रङ्‌गशालामा भएको खेलमा आयोजक सहारा क्लबलाई ट्राईब्रेकरमा ४-२ गोलअन्तरले पराजित गरी पुलिसले सेमिफाइनलमा स्थान पक्का गरेको हो। निर्धारित समयमा दुवै टोलीबाट १-१ को बराबरी भएपछि ३० मिनेटको अतिरिक्त समय थपिएको थियो। अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसकेपछि ट्राइब्रेकरबाट विजेता टुङ्‌गो लगाइएको हो।

सहाराका अलरिच राम्जेको पेनाल्टी पुलिसका गोलकिपर रोशन खड्काले विफल पारिदिए भने त्रिदेव गुरुङको पेनाल्टी बारभन्दा माथिबाट बाहिरियो। पुलिसका अनुप लिम्बूको पेनाल्टी सहाराका किपर अर्पण कार्कीले विफल पारिदिए। पुलिसका लागि भरत शाह, सौजन एक्खा राई, हेम तामाङ र सुमन सुवेदीले गोल गरे। सहाराका आशिस गुरुङ र अजय श्रेष्ठले गोल गरे।

यसअघि खेलको ७५ औं मिनेटमा भरत शाहको गोलमा अग्र्रता लिएको पुलिस अन्तिम मिनेटमा सम्हालिन नसक्दा सहाराले बराबरी गोल फर्काएको थियो। इन्जुरी समयमा सहाराका अजय श्रेष्ठले गोल गरेका थिए। १ सय १९ औं मिनेटमा पुलिसका कप्तान भोला सिलवाल दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि पुलिस १० खेलाडीमा समेटिएको थियो।

प्रतियोगिताअन्तर्गत आइतबार मनाङ मर्स्याङदी र झापा ११ बीच प्रतिस्पर्धा हुनेछ। झापाले एपिएफलाई पराजित गरी क्वार्टरफाइनल प्रवेश गरेको हो भने मनाङ बाई पाएर सोझै क्वार्टरफाइनल खेल्न लागेको हो। अघिल्लो प्रतियोगितामा मनाङ पहिलो खेलमै पराजित भएर घर फर्किएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *