विदामा आएर लकडाउनको कारण घरमा फ*सेका कामदार र अध्ययन गर्ने विद्यार्थी अब विदेश उड्न पाउने
काठमाडौं, ९ असार । विदामा घर आएका नेपालीहरु मध्य धेरै कोरोनाका कारण भएको लकडाउनले नेपालमै छन् । विदेशमा काम गर्ने कामदार र अध्ययन विदामा स्वदेश फर्किएकाहरु नेपालमै रहेका छन् । उनीहरुका विषयमा सरकारले निर्णय गरेको छ । विदेशमा कार्यरत नेपाली श्रमिक तथा अध्ययनका लागि विभिन्न देश जाने विद्यार्थीका लागि मापदण्ड तोकी स्वीकृत गर्न सक्ने प्रस्ताव मन्त्रिपरिषदमा जाने भएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेपछि अब उनीहरुका लागि बाटो खुल्ने संकेत देखिएको हो । ‘वैदेशिक रोजगारीमा रही विदामा आएका र नयाँ रोजगारीमा विदेश जाने श्रमिकहरुको हकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीको हकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कोभिड–१९ को रिपोर्ट चाहिने भएमा सम्बन्धित व्यक्तिले नै खर्च ब्यहोर्ने गर्ने गरी र जनस्वास्थ्य प्रोटोकल पालना गरी आवत–जावत अनुमति दिने’, निर्णयमा उल्लेख छ ।
श्रम मन्त्रालयले जापान लगायतका केही युरोपेली देशमा जाने कामदारलाई श्रम इजाजत दिएर त्यहाँसम्म चार्टर्ड फ्लाइटका लागि जाने विमानमा पठाउने प्रस्ताव गरिएको थियो ।
त्यस्तै, आज विभिन्न ६ वटा देशबाट एक हजार भन्दा धेरै नेपाली स्वदेश फर्किँदैछन्। अष्ट्रेलिया कतार, थाइल्यान्ड, कुवेत, युएइ र मालदिभ्समा रोकिएका नेपाली स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ। अष्ट्रेलियाबाट आज पहिलोपटक उद्धार गर्न लागिएको हो। अष्ट्रेलियाबाट २ सय ५० भन्दा धेरै नेपाली आज राती साढे १० बजे स्वदेश आउने मन्त्रालयका सहसचिव हरिस्चन्द्र घिमिरेले जानकारी दिए। कुवेतबाट जजिरा एयरमार्फत विहान साढे ११ बजे १५० जना नेपाली फर्कदैछन्।
कुवेतबाट आउनेमा अधिकांश महिला र बालबालिका रहनेछन्। थाइल्यान्ड र मालदिभ्समा रोकिएका नेपाली लिन नेपाल एयरलान्इस दुई वटा विमान विहान त्यसतर्फ उडेका छन्। थाइल्यान्डबाट १५८ र मालदिभ्सबाट १५० जना नेपाली स्वदेश फर्कर्दै छन्। कतारमा रहेका नेपालीलाई कतार एयरवेजको विमानले काठमाडौँ ल्याउँदैछ। कतारबाट १५८ जना नेपाली स्वदेश आउदैछन् । उक्त विमान अहिले केहिवेरमा त्रिभुवन विमानस्थलमा आइपुग्दैछ।
युएइबाट दिउँसो साढे १ बजे १५० जना भन्दा धेरै नेपाली स्वदेश फर्कदै छन्। यस्तै स्वाथ्य सामाग्री लिन हिमालय एयरलाइन्सको विमान बिहान चीनको चाङसा प्रस्थान गरेको छ । प्राधिकरणका अनुसार उक्त विमान वेलुका ६ बजे काठमाडौं आइपुग्ने छ । आज पनि दिनभर त्रिभुवन विमास्थलबाट विभिन्न देशमा आउने जाने गरी १८ वटा उडान हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।