Butwal Sandesh

Best Nepali Online Newspaper

विदेशबाट ल्याएकी बुहारीलाई नागरिकता दिन सात वर्षको हदम्याद, विदेशी ज्वाईंलाई नागरिकता नै नदिने

Spread the love

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले नेपाली पुरुषसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि अंगीकृत नागरिकता दिने निर्णय गरेको छ। बालुवाटारमा शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। नेकपा प्रवक्तासमेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा संसदमा विचाराधीन रहेको नागरिकता विधेयकको प्रावधानका बारेमा छलफल भएकाे छ ।

‘नेपाली पुरूष नागरिकसँग विवाह गर्ने विदेशी महिलाले प्राप्त गर्न सक्ने अंगीकृत नागरिकताको प्रावधानबारे छलफल गरेर निष्कर्ष निकालियो,’ प्रवक्ता श्रेष्ठले भने, ‘नेपाली नागरिक पुरूषसँग विवाह गर्ने विदेशी महिलाको हकमा सात वर्ष देशभित्र बसेको पुष्टि भएपछि, आफ्नो विदेशमा नागरिकता वा त्यस्तै प्रमाणपत्र लिएको भए त्यसलाई परित्याग गर्ने प्रक्रिया चलाएको प्रमाण पेश गरेपछि सम्बन्धित व्यक्तिले वैवाहिक अंगिकृत नागरिकता पाउनु उपयुक्त हुन्छ भन्ने निष्कर्ष निकालेको छ।’

विदेशी महिलाले नागरिकता त्याग गरेको प्रक्रिया चलाएको प्रमाण पेश गरेपछि अंगिकृत नागरिकता दिन सकिने नेकपाको भनाई छ। प्रवक्ता श्रेष्ठले त्यसरी विवाह गरेर आएकै दिन देखि लागट्ठ हुनेगरी सामाजिक, सांस्कृतिक, आर्थिक सम्पूर्ण अधिकार प्राप्त गर्न सक्ने गरी उनीहरूलाई आवासीय परिचयपत्र प्रदान गरिने बताए।

नेकपा सचिवालयले विदेशी ज्वाईलाई भने नागरिकता नै नदिने निर्णय गरेको छ। नेपाली पुरुषासँग विवाह गरेकी महिलालाई सात वर्षपछि अंगीकृत नागरिकता दिने निर्णय गरेको नेकपाले विदेशी ज्वाइँलाई पनि अंगीकृत नागरिकता दिनुपर्ने आफ्नै महिला सांसदहरुको माग अस्वीकृत गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *