Butwal Sandesh

Best Nepali Online Newspaper

देशभरका विद्यालय खुल्ने मिति तोकियो, यस्तो छ सरकारी निर्णय

Spread the love

काठमाडौं – सरकारले कोरोना भाइरस सं*क्रमण रोकथामका लागि गरेको लकडाउन खुकुलो पार्ने निर्णय गरेसँगै असार १ गतेदेखि देशभरका विद्यालय खुल्ने भएका छन् । मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले असार १ गतेदेखि विद्यालयका कार्यालय खोल्न पाइने जानकारी दिए । विद्यालय कार्यालय खोले पनि पठनपाठन भने सञ्चालन हुने छैन ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने वैकल्पिक पठनपाठनका लागि प्रविधिको पहुँच नभएका विद्यार्थीलाई विद्यालयमा समूहगत रुपमा बोलाएर सामाजिक दूरी कायम गर्दै पठनपाठन गर्न सकिने निर्देशिका जारी गरेको छ । प्रविधिमा पहुँच भएका विद्यार्थीलाई रेडियो, टेलिभिजन, मोबाइलबाट पठनपाठन गर्न सकिने भए पनि प्रविधिमा पहुँच नभएका विद्यार्थीलाई विद्यालयमा पठनपाठन गर्न सकिने विकल्प खुला राखिएको छ ।

सरकारले २०७६ चैत ११ गतेदेखि गरेको लकडाउन आज बिहीबारबाट खुकुलो भएको छ भने असार १ गतेबाट झन् खुकुलो हुने भएको छ । प्रवक्ता खतिवडाका अनुसार सरकारले पहिलो चरणमा २१ दिनका लागि लकडाउन केही खुकुलो पार्ने निर्णय गरेको छ । सरकारी निर्णय अनुसार उद्योग, कलकारखाना, सरकारी र निजी कार्यालय सञ्चालन गर्न सकिने भएको छ ।

यस्ता छन् खोल्न मिल्ने क्षेत्रहरू

– फोहोरमैला व्यवस्थापन, विद्युत, दमकल, सञ्चार र हुलाक सम्बन्धी कार्यालय र सवारी साधन, बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा, नर्सरी र वन जन्य उद्यम खुला भएको छ । (कृषिकै अंगको रुपमा चल्ने भएकाले खुला गरिएको हो) । विकास आयोजना निजी क्षेत्रबाट प्रवद्धित पूर्वाधार र जलविद्युत् आयोजना निर्वाध सञ्चालन गर्ने, नदी तथा खानीजन्य पदार्थको उत्पादन, संकलन र बिक्री वितरण खुला,

रेस्टुरेन्ट खान ल्याउन र सेवा लिन सकिन्छ । प्याकिङ खान परिवारसँग खान सकिन्छ र खाना संकलन गर्न सकिन्छ तर रेस्टुरेन्टमा बसेर खान पाइँदैन । क्वारेन्टाइनका लागि तोकिएका होटल र त्यसका यातायात साधन सञ्चालन गरिने अन्य सञ्चालन नगर्ने ।

सरकारी कार्यालय, शिक्षण संस्थाका कार्यालय, गैरसरकारी संस्थाका कार्यालय (सबै कार्यालय यातायात र कार्यस्थलमा सामाजिक दूरी कायम गर्दै सञ्चालन गर्नुपर्नेछ । कार्यालय दुई सिफ्ट बिहान ८ देखि दिउँसो १ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म) पूर्ण रुपमा सञ्चालन गर्न पाइने छ,

जोरबिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी कार्यालयका सवारीसाधन श्रमिकको आवगमनका लागि सञ्चालन गरिने । यसरी सञ्चालन हुने सवारीसाधनको सिटको एक लहरमा एकजना मात्र यात्रु राख्न पाइने छ । गाडीमा सवार सबैले मास्कसँगै सबै स्वास्थ्य सुरक्षाका मापदण्ड उपयोग गर्नुपर्नेछ,

(सञ्चालन हुने कार्यालय र उद्योग क्षेत्रलाई सम्बन्धित मन्त्रालयले जनस्वास्थ्य र सुरक्षा मापदण्डका लागि प्रोटोकल लागू गर्नुपर्नेछ । यी सबै निर्णय असार १ गतेदेखि लागू हुनेछन् ।

यी १३ क्षेत्र सञ्चालनमा रोक

शैक्षिक संस्था (विद्यालय, विश्वविद्यालय, ट्युसन सेन्टर र तालिम केन्द्र), अनुमति प्राप्तबाहेक आन्तरिक र अन्तर्राष्ट्रिय उडान, तोकिए बाहेकका अन्तराष्ट्रिय सीमा नाकाबाट हुने आवतजावत, सबै प्रकारका तालिम, गोष्ठी, सभा र सेमिनार, सबै प्रकारका प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्स बार लगायतका मनोरञ्जनस्थल,

सार्वजनिक पुस्तकालय, संग्राहालय, चिडियाखाना, शैलुन र ब्युटीपार्लर, स्विमिङ पुल, जिमखानालगायत हेल्थ क्लब, शपिङ महल, समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति, सबै धार्मिक तथा सार्वजनिक स्थलहरू, यात्रुबाहक सवारीसाधन (त्यसमा पर्यटक सवारी साधन समेत), काठमाडौं उपत्यकाको हकमा उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सोही सम्बन्धित जिल्लाभित्र मात्र जोर बिजोर प्रणालीमा निजी सवारीसाधन सञ्चालन हुने । अन्य क्षेत्रमा यो निर्णय लागू नहुने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *