६ वर्षको उमेरमै सिक्स प्याक, जो फुटबलमा सानो मेस्सी भनेर चिनिन्छन ।
एजेन्सी। आजकल मानिसहरु आफ्नो फिटनेसमा निकै ध्यान दिन्छन् । युवाहरुको बीचमा कठोर व्यायाम गरी सुगठित, ससक्त तथा सिक्स प्याकयुक्त शरीर बनाउने लहड नै छ । प्रायः किशोरावस्थाको उत्तरार्ध तथा युवा उमेरमा तन्नेरीहरुले सिक्स प्याक तयार गर्छन् । तर ६ वर्षका बालकले सिक्स प्याकयुक्त जिउ बनाएर सबैलाई तिनछक पारिदिएका छन्।
इरानको बाबोल सहरमा जन्मिएका आरत होसैनी नामका ती बालक अहिले आफ्नो सिक्सप्याक युक्त गठिलो सरीरकै कारण चर्चित बनेका छन्। सुगठित शरीर मात्रै होइन उनी फुटबल र जिम्न्याष्टिक समेत राम्रो खेल्दछन्। इरानमा जनिमएका आरत अहिले बेलायतको लिभरपुलमा बस्दछन्। उनले हाल लिभरपुल एकेडेमीमै खेल तालिम लिइरहेका छन्।
सोसल मिडियामा स्टार बनिसकेका आरतको इन्स्टाग्राममा ४० लाख फलोअर्स छन् । उनलाई चर्चित बनाउने श्रेय उनका बुवा मोहम्मदलाई जान्छ । उनले छोरालाई ९ महिनाको उमेरदेखि नै शारीरिक व्यायाम गराउन सुरु गरेका थिए । सुगठित शरीर र खेल कौशलका कारण ती बालक दुई वर्षको उमेरदेखि नै मिडियामा छाउन थालेका थिए।
फुटबल खेलाडी समेत रहेका उनले भविष्यमा बार्सिलोना क्लबमा गएर खेल्ने सपना साँचेका छन्। कल्पना नगरुन् पनि किन ? उनका मनपर्ने खेलाडी नै लियोनेल मेसी हुन् । आफू पनि भविष्यमा मेसी जस्तै बन्ने सपना उनको छ।