Butwal Sandesh

Best Nepali Online Newspaper

भारतीय पक्षका प्रतिक्रियामा नेपाली पक्षबाट दिने जवाफमा मर्यादाको समस्या

Spread the love

काठमाडौं । नेपालले लिम्पियाधुरा क्षेत्र समेटेर नक्सा जारी गरेपछि भारतीय पक्षबाट आएका प्रतिक्रियाहरुमा नेपाली पक्षबाट दिने जवाफमा मर्यादाको समस्या देखिएको छ । भारतका विभिन्न व्यक्ति तथा पक्षबाट आएका प्रतिक्रियामा नेपालका प्रधानमन्त्रीकै तहबाट हुने टिप्पणीले मर्यादामा समस्यामात्रै होइन, हाम्रो कूटनीतिक कच्चापन पनि झल्किएको टिप्पणी भइरहेको छ ।

भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले केही दिनअघि नेपालबारे दिएको अभिव्यक्तिको प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संसदबाट जवाफ दिए । आदित्यनाथले ‘तिब्बतको इतिहास हेरेरमात्रै कदम चाल्न’ नेपाललाई चेतावनी दिएका थिए । जसमा परराष्ट्र मन्त्रालयको तहबाटसमेत अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

तर, प्रधानमन्त्रीबाटै संसदमा उभिएर एकजना मुख्यमन्त्रीको टिप्पणीमा जवाफ फर्काउँदा कूटनीतिक मर्यादामा खलल पुग्ने त होइन ? भन्ने प्रश्न उठेको छ । यही जेठ २ मा भारतका स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणेले ‘कसैको उक्साहटमा नेपालले लिपुलेक सडकको विरोध गरेको’ अभिव्यक्ति दिँदा पनि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सेनाध्यक्ष नरवणेको अभिव्यक्ति आग्रहपूर्ण रहेको बताएका थिए ।

भारतले लिपुलेक क्षेत्रमा सडक बनाएको विषयमा पनि मन्त्री ज्ञवालीले नै भारतीय राजदूत विनयमोहन कोत्रालाई बोलाएर विरोधपत्र दिएका थिए । जुन काम परराष्ट्रसचिवको तहबाट हुनुपर्ने थियो । भारतीय पक्षबाट मन्त्रीस्तरीय वा प्रधानमन्त्रीको तहबाट कुनै टिप्पणी नभइरहेको बेला कर्मचारी तह वा कुनै राज्यका मुख्यमन्त्रीको तहबाट हुने टिप्पणीमा नेपालको ‘क्याबिनेट’ अथवा प्रधानमन्त्रीस्तरबाट जवाफ दिइँदा राज्यका अन्य संयन्त्र नै कमजोर रहेको सन्देश जाने बताउँछन्, परराष्ट्रविद् डा. दिनेश भट्टराई ।

त्यसो त कूटनीतिमा राजनीतिक ‘स्टन्ट’को पनि भूमिका हुन्छ । यातायतमन्त्री वा सचिवस्तरीय अधिकारीबाट सडक उद्घाटन गर्नुपर्नेमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले लिपुलेकमा निर्माण पूरासमेत नभएको सडकको उद्घाटन गर्नु आफैंमा अर्थपूर्ण विषय हो । त्यसबारे नेपालले भारतीय राजनीतिक उद्देश्य र परराष्ट्र नीतिबमोजिम व्यवहार गर्नुपर्ने बताउँछन्, परराष्ट्रविद् डा. भट्टराई ।

त्यसो त नेपालमा राजनीति र कूटनीतिबीच कुनै लक्ष्मणरेखा छैन । विदेशी राजदूतहरुले नेपालका राष्ट्रप्रमुखदेखि सरकार प्रमुखलाई रातारात भेट्ने चलन छ । तर, राजकीय भ्रमण वा कूटनीतिक भेटघाट तथा संवादमा परराष्ट्र मन्त्रालयको ‘प्रोटोकल’ विभागले स्पस्ट ‘गाइडलाइन’ नै बनाएको छ ।

तर, उक्त गाइडलाइनको पालना गर्नुपर्छ भन्ने हेक्का नेपाली नेतृत्वले गरेको पाइँदैन । बरु, संवेदनशील विषयमा जिम्मेवार पदमा रहेका व्यक्तिहरुले मनपरी टिप्पणी गरेर बेला–बखतमा अप्ठेरो निम्त्याउने र राष्ट्रको परराष्ट्र नीति नै नभएको सन्देश दिने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *