Butwal Sandesh

Best Nepali Online Newspaper

प्रधानमन्त्री ओली ‘भारत निकट’ भारतीय मिडियाको दावी

Spread the love

काठमाडौं । भारतले नेपाली भूमि मिच्ने रवैया देखाएसँगै नेपाल–भारत सीमा विवाद बढेको छ । कूटनीतिक स्तरमा औपचारिक सम्वाद हुन नसकेपनि नेपाल र भारतका तर्फबाट आफ्नो प्रमाण पेश गर्ने काम भइरहेको छ । यो विवादको छिटा जनस्तरमा समेत परेको छ ।

तनावको यो अवस्थामा केही भारतीय मिडियाले बलियो तर्क पेश गर्न नसकेपनि नेपालविरुद्ध अनेक प्रोपोगाण्डा रचिरहेको छन् । यसका लागि कहिले भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवाणेलाई प्रयोग गर्दै नेपाल अहिले चीनको इशारा चलेको आरोप लगाउने गरिएको छ भने कहिले भारतीय सेनाका पूर्व जेनरल गगनदीप बक्सीलाई प्रयोग गर्दै कम्युनिष्टको सरकार बन्न दिएकाले यी सबै समस्या आएको भन्ने गरेका छन् ।

प्रोपोगाण्डाकै क्रममा अधिकांश भारतीय टेलिभिजनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन परस्तको ‘ट्याग’ लगाएका छन् । भारतीय मिडियाले नेपालसँगको विवादमा मात्र चीनको नाम लिएको होइन । यसअघि पाकिस्तान, श्रीलंका, बंगलादेश र माल्दिभ्ससँग विवाद हुँदा पनि ती देशका प्रधानमन्त्री तथा राष्ट्रपतिलाई चीन परस्त रहेको आरोप लगाएका थिए ।

नेपालले यो विवादको क्रममा बलियो तर्क पेश गरेसँगै पछिल्लो समय भारतका बुद्धिजीवी र सरकारी संयन्त्रको पनि लवज फेरिएको छ । सरकारको बोली फेरिसँगै केही मिडिया पनि अहिले ओलीलाई भारत निकट रहेको भन्न थालेका छन् ।

‘भारत वर्ष’ नामक टेलिभिजनको अनलाइन संस्करणले ओलीले आजसम्म भारतसँग गरेका व्यवहारका कारण उनी ‘भारत निकट’ रहेको दाबी गरेको छ ।

महाकाली सन्धीको बेला पनि ओलीले खेलेको भूमिकाको प्रशंसा गरिएको छ । सो सन्धीलाई राष्ट्रघाती भन्दै नेपालमा ठूलो विवाद सुरु भएको थियो । तत्कालीन नेकपा एमालेमा समेत यसले ठूलो रडाको सिर्जना गरेको थियो । तर ओलीले भारतको बचाउ गर्दै आफ्नो समर्थन भारतसँग रहेको पुष्टी गरेको पनि सो अनलाइनले उल्लेख गरेको छ ।

पुराना घटना मात्र होइन, पछिल्ला व्यवहारका कारण पनि ओली भारत निकट रहेको दाबी गरिएको छ । प्रधानमन्त्री ओलीले सन् २०१८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा गरेको विशिष्ट स्वागत यसको उदाहरण रहेको बताइएको छ । त्यसबेला मोदी जनकपुर आउँदा प्रधानमन्त्री ओलीको तर्फबाट विशेष सत्कार भएको थियो । सोहीकारण ओलीलाई चीन परस्त भन्न नसकिने उनीहरुको दाबी छ ।

ओली–भारत सम्बन्ध बलियो बनाउनका लागि भारतले पनि असल व्यवहार देखाएको थियो । नेपालमा नाकाबन्दी लगाउने निर्दयी काम गरेको भारतले नेपालका तत्कालीन प्रधानमन्त्री ओलीलाई भारत भ्रमणका क्रममा उच्च सम्मान दिएको थियो । सन् २०१६ र २०१८ मा ओलीले दुई पटक भारत भ्रमण गरेका थिए । उनलाई दुबै पटक भारतले राष्ट्रपति भवनमा राखेको थियो । यी सबै आधारबाट पनि ओली भारत निकट रहेको सो अनलाइनले ठोकुवा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *