Butwal Sandesh

Best Nepali Online Newspaper

कोरोनाबाट २९ वर्षीया सुत्केरीको मृत्यु

Spread the love

नेपालमा कोरोना भाइरसबाट पहिलो मृत्यु भएको छ। सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया सुत्केरीको बिहीबार काभ्रेस्थित धुलिखेल अस्पताल लैजाने क्रममा मृत्यु भएको हो।कोरोनाकै कारण मृत्यु भएको हो वा अन्य समस्या पनि थियो भनेर अध्ययन गरिसकेपछि स्वास्थ्य मन्त्रालयले शनिबार त्यसको पुष्टि गरेको छ।नेपालमा संक्रमण भित्रिएको झन्डै चार महिनापछि कोरोना भाइरसबाट पहिलो मृत्यु भएको खबर आजको नयाँ पत्रिका दैनिकमा सिन्धुपाल्चोकबाट रामकृष्ण थापा र काभ्रेबाट इन्द्रबहादुर थापाले लेखेका छन्।मृतक महिलाले २४ वैशाखमा काठमाडौंको महाराजगन्जस्थित शिक्षण अस्पतालमा नर्मल डेलिभरीमार्फत बच्चा जन्माएकी थिइन् । त्यसको एक दिनअघि उनी अस्पताल भर्ना भएकी थिइन् । २५ वैशाखमा डिस्चार्ज भए पनि दुई दिन काठमाडौंकै डेरामा बसेर उनी २८ वैशाखमा बाह्रबिसेस्थित घर फर्केकी थिइन् ।

तर, ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या देखिन थालेपछि उनले स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराएको मन्त्रालयले जनाएको छ।कोरोनाको लक्षण देखिएको र समस्या बढ्दै गएपछि बिहीबार उनलाई शिक्षण अस्पताल रिफर गरिएको थियो । बीचबाटोमै उनलाई सास फेर्न गाह्रो हुन थालेपछि एम्बुलेन्स धुलिखेल अस्पताल लगिएको थियो । तर, बाटोमै उनको मृत्यु भइसकेको अस्पतालले जनाएको छ।‘अस्पताल ल्याइपुर्‍याउँदा नै उहाँको मृत्यु भइसकेको थियो । स्वास्थ्यकर्मीले कृत्रिम श्वास दिएर कोसिस गर्नुभयो, तर केही सीप लागेन । श्वासप्रश्वासमा समस्या भएकाले हामीले तत्कालै स्वाब लियौँ । अस्पतालको ल्याबमा पिसिआर परीक्षण गर्दा उहाँको रिपोर्ट पोजेटिभ आयो,’ धुलिखेल अस्पतालका डिन डा.राजेन्द्र कोजूले भने।

मृतकमा कोरोना भाइरस पोजेटिभ देखिएपछि अस्पतालले उनको नमुना केन्द्रीय प्रयोगशाला टेकुमा पनि पठाएको थियो । त्यहाँको रिपोर्ट पनि पोजेटिभ आएको थियो । संक्रमणबाट जोगिन अस्पतालले परिवारका सदस्यलाई मृतकको छेउमा जान दिएको छैन।कोरोना संक्रमणबाट मृत्यु भएकालाई आफन्तले एक मिटर टाढाबाट मात्रै हेर्न पाउनेछन् । संक्रमणको जोखिमलाई ध्यानमा राखेर सरकारले शव व्यवस्थापनका लागि बनाएको निर्देशिकामा यस्तो व्यवस्था गरेको छ।शवलाई नछोईकन टाढैबाट कुल धर्मअनुसार तिल, पानी छर्कने तथा फूल चढाउन भने पाइनेछ । त्यस्तै, ६० वर्षभन्दा माथिका र दीर्घरोगीलाई शवको नजिक जान रोक लगाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *