कोही माइकलालले प्रधानमन्त्री ओलीलाई हटाउन सक्दैन – सांसद नविना लामा

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा नेतृ, पूर्वअनेरास्ववियुका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद नविना लामाले जनताद्वारा पाँच वर्षको लागि जनमत प्राप्त वर्तमान पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई हटाउन कुनै पनि माइकलालले नसक्ने बताउनुभएको छ ।

प्राइम टेलिभिजनमा अन्तरवार्ता दिँदै सांसद लामाले प्रधानमन्त्री केपी ओलीलाई जनताले पाँच वर्षको कार्यकाल पुरा गर्दै समृद्ध नेपाल : सुखी नेपालीको अभियानलाई सार्थकतामा पुर्याउन जनमत प्राप्त गरेको उल्लेख गर्दै पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीबाट केपी ओलीको राजीनामा कुनै सम्भावना नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जनताबाट निर्वाचित प्रधानमन्त्रीलाई कसले हटाउन सक्छ ? जनता तथा सांसदले प्रम ओलीलाई पूर्ण समर्थन रहेको छ । लेखेर राख्नुहोस्, कुनै हालतमा सरकार तथा पार्टी अध्यक्षबाट हटाउनु सक्दैन । प्रम ओलीलाई हटाउने कुनै माइकलाल छैनन् ।’

पार्टीभित्रको विरोध तथा आत्माआलोचना गर्नु स्वभाविक हुने तर वाहिर नेतृत्वले के वोल्ने र के गर्ने भन्ने सोच्न नसक्नु आफ्नो खुट्टामा आफै बन्चरो हान्नु जस्तै भएको उल्लेख गर्दै उहाँले नेकपाको कुशल व्यवस्थापक नै केपी ओली भएको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘लोकतन्त्रमा कसैको विरोध तथा वहस गर्नु स्वाभाविक भए पनि वर्तमान समयमा मुलुकमा कोरोनाका कारण ठूलो चुनौति सामाना गरिरहेको समयमा सरकार तथा पार्टी अध्यक्षको विकल्प जसले खोज्छ, उसको राजनीतिक भविष्य संकट पैदा हुनु हो । केपी ओली सँगको शक्ति अरु कोही नेतासँग तुलुना हुँदैन ।’

आफ्नो गुट र उपगुट जसले सञ्चालन गर्छ उसको राजनीतिक भविष्य संकट हुने उल्लेख गर्दै उहाँले नेकपा पार्टी पनि नफुट्ने साथै सरकार पनि परिवर्तन हुने कुनै पनि सम्भावना नरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘पार्टी विचार र सिद्धान्तबाट चल्ने हो, गुट र उपगुटबाट चल्ने हैन । जनताले पाँच वर्ष सरकार चलाउनु भनि जनमत दिएका छन् । त्यसैले जनताको भावना विपरित पार्टी, सरकार विरोधी तथा मुलुकमा अस्थिरता निम्त्याउन खोज्नेले वर्तमान केपी शर्मा ओलीको राजिनामाको हल्ला चलाएको हो ।’

गुटगत लिप्तहरुले प्रधानमन्त्रीको राजीनामा मागेको तर आफै समाप्त हुँदै गएको बताउँदै उहाँले भन्नुभयो, ‘संसदिय व्यवस्थामा प्रम ओलीलाई कसैले च्यालेन्ज गर्छ भने त्यो सिद्धिने बाटो हो भने प्रष्ट बुझ्न जरुरी छ । प्रधानमन्त्री केपी ओली अल्पमतमा हुनुहुन्छ भन्ने हल्ला हो । संसदमा हामी पूर्ण रुपमा बहुमतमा छौं । पार्टीमा पनि बहुमतमा नै हुनुहुन्छ ।’

सरकारले देश र जनताको पक्षमा कार्य गरिरहेको उल्लेख गर्दै उहाँले विश्वमा महामारिको रुपमा फैलिएको यो संकटको घडिमा कोरोना भन्दा पनि सरकार तथा पार्टीभित्र गलत कार्य गर्नेलाई जनताले प्रत्यक्ष निगरानी राखिरहेको बताउनुभयो ।

कुनै स्वार्थ र नीजि कुराले पार्टी एकता भएको नभई जनताको समाजवादको लक्ष्य प्राप्तीको लागि पार्टी एकता भएकाले कसैले चाहेर पार्टी फुटाउन नसक्ने बताउँदै उहाँले कसैले पाटीभित्र बबण्डर मच्चाउन खोज्छ भने त्यो उसैको लागि घातक हुने चेतावनी समेत दिनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीको अभिभावकत्व गर्ने समयमा प्रचण्डले यो वेलामा षड्यन्त्र रचेर पार्टी तथा सरकारभित्र बबण्डर मच्चाउनु आफ्नै लागि घातक हुन्छ । आफ्नो नेतृत्व हुँदा मुलुकको लागि केही गर्न नसक्नेमात्र नभई आफ्नो गुटलाई समेत संरक्षण गर्न नसक्नेले वर्तमान केपी ओलीसँग तुलना गर्नु औचित्यहिन हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *