र्यापिड टेस्टमा ‘पोजेटिभ’ भेटिएकी बाग्लुङकी महिलाको स्वाब पुनः परीक्षण गर्दा ‘नेगेटिभ’
काठमाडौं । र्यापिड डाइग्नोस्टिक किटबाट गरिएको परीक्षणमा कोभिड १९ पोजिटिभ देखिएकी बागलुङकी एक महिलाको स्वाब पुनः परीक्षण गर्दा नेगेटिभ रिजल्ट आएको छ ।
बागलुङको काठेखोला–६ की ६५ वर्षीया महिलाको शनिबार गरिएको टेस्टमा पोजिटिभ देखिएपछि उनको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा स्वाब परीक्षण गरिएको थियो, जहाँ नेगेटिभ देखिएको हो ।
‘र्यापिड टेष्टमा पोजिटिभ देखिए पनि प्रयोगशालामा स्वाब परीक्षणमा नेगेटिभ नतीजा आयो,’ गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माले भने, ‘उनको आइतबार स्वाब परीक्षण गरिएको हो ।’ ती महिला लकडाउनअघि भारतको गया तीर्थयात्रामा गएर फर्केकी थिइन ।
त्यसैगरि, कोरोना भाइरस सं क्रमणको आ*शंकामा भैरहवाको भीम अस्पतालमा एक पुरूषलाई भर्ना गरिएको छ । मायादेवी गाउँपालिका १ का ५८ वर्षका एक पुरुषलाई भैरहवास्थित भीम अस्पतालको आइसोलेसनमा कक्षमा राखिएको हो ।
करिब १२ दिनदेखि ज्वरो आउने र केही दिनदेखि खोकी, सास फेर्न ग्राहो हुने तथा पखाला लागेपछि आइसोलेसन कक्षमा राखिएको भीम अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए ।
सोमबार बिहान स्वास्थ्य परीक्षण गराउन अस्पताल आएका उनलाई ज्वरो जाँच क्लिनिकमा परीक्षण गरेपश्चात कोरोना भाइरस (कोभिड–१९) को मिल्दोजुल्दो लक्षण देखिएपछि आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको उपाध्यायले बताए । कोरोना सं क्रमित भएको हो, होइन त्यो पुष्टि गर्नका लागि उनको स्वाब भोली मंगलबार भैरहवाको अञ्चलपुरस्थित गहुँबाली अनुसन्धान केन्द्रमा पठाइने छ ।