Butwal Sandesh

Best Nepali Online Newspaper

प्रतीलिटर १० रूपैयाँले घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

Spread the love

काठमाडाैं । सरकारले पेट्रोल, डिजेलको मूल्य घटाएको छ। चैत्र १९ गते राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाइएको हो। अब पेट्रोलको खुद्रा मूल्य काठमाडौं उपत्यकामा प्रतिलिटर ९६ रुपैयाँ तथा डिजेल र मट्टितेलको को मूल्य प्रतिलिटर ८५ रुपैयाँ पर्नेछ।

त्यस्तै आन्तरिकतर्फ हवाई इन्धनको मूल्य पनि प्रतिलिटर १५ रुपैयाँले घटाइएको छ। सो इन्धनको मूल्य प्रतिलिटर ७५ रुपैयाँ कायम गरिएको छ। वाह्य उडानतर्फको हवाई इन्धन प्रतिलिटर ०. ९५ डलर कायम गरिएको छ। खाना पकाउने ग्यासको मूल्य यथावत राखिएको छ।

यसअघिसम्म प्रतिलिटर २ रुपैयाँ घटाउँदै आएको निगमले अहिले भने उच्च दरले घटाएको हो। धेरै मुलुकमा लकडाउनका कारण पेट्रोल, डिजेलको खपत घटेको छ।

जसले गर्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल २० डलरको आसपासमा छ। कोरोनाभाइरसका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि प्राप्त सूचीअनुसार मूल्य समायोजन गरिएको आयल निगमले जनाएको छ।

यस्तै सरकारले सरकारले काठमाडौं उपत्यकामा वितरण गर्ने राहतको मापदण्ड एकै किसिमको हुने भएको छ । बुधबार राहत वितरणबारे उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदेयश त्रिपाठीले काठमाडौं उपत्यकामा स्थानीय तहसँग छलफल गरेका थिए ।

छलफलमा स्थानीय तहले संकलन गर्ने तथ्याकंका आधारमा प्रतिपरिवार वितरण गरिने नुन, चामल, चिनी, दाल जस्ता खाद्यन्नको मात्रा एकै किसिमको गर्ने सहमति भएको हो ।

उपत्यकाका स्थानीय तहले ज्‍यालादारी गर्ने मजदुर र विपन्न वर्गका उपभोक्तालाई लकडाउन अवधिमा भएको क्षतिको राहत दिँदा एउटै मापदण्ड बनाउने सहमति भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालका प्रवक्ता प्रकाश दाहालले जानकारी दिए ।

सहमतिअनुसार नगरपालिकाहरुको मागका आधारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनले खाद्य सामग्री स्थानीय तहलाई उपलब्ध गराउनेछ । त्यसपछि ती सामग्री स्थानीय तहको वडाले संकलन गरेको तथ्यांकका आधारमा वितरण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *