Butwal Sandesh

Best Nepali Online Newspaper

कोरोना भाइरसका कारण ८० प्रतिशत खपत घटेपछि दूध नष्ट गर्दै उद्योगी

Spread the love

लकडाउनका कारण सर्वसाधारण चलायनमान हुन नपाउँदा उपभोग्य वस्तुको उत्पादन मात्र घटेको छैन, खपतसमेत घटेको छ । यो समयमा देशभर प्रशोधित दूध र दुग्धजन्य पदार्थ (दही, घिउ, पनिर, बटर, चिजलगायत)को खपत ८० प्रतिशतले घटेको छ । पाउडर दूधको उत्पादन र भण्डारण गोदाम भरिएपछि राख्ने ठाउँको अभाव हुन थालेको छ । माग घटेपछि व्यवसायीले उत्पादनमा समेत कटौती गर्दै लगेको डेरी एसोसिएसनका निवर्तमान अध्यक्ष सुमित केडियाले जानकारी दिए । उनका अनुसार सामान्य अवस्थामा दैनिक ७ लाख लिटर दूध बिक्री हुने गरेको थियो । त्यसमध्ये साढे ५ लाख लिटर काठमाडौं उपत्यकामा मात्र खपत हुने गथ्र्याे । ‘अहिले खपत घटेर २ लाख लिटरमा झरेको छ,’ उनले भने ।

काठमाडौंमा चितवन, रुपन्देही, नवलपरासी, काभ्रेलगायतका जिल्लाबाट दूध आपूर्ति हुँदै आएको छ । दूधको खपत घटे पनि डेरी उद्योग संघले एक विज्ञप्ति जारी गर्दै अहिले कम्तीमा ५० प्रतिशत दूध किसानबाट उठाउन अपिल गरेको छ ।

कोरोना संक्रमणको त्रास फैलिरहेको समयमा दूध बिक्री गर्ने सबै डेरी उद्योगले अहिले मास्क, स्यानिटाइजर, ग्लोब्सको समस्या खेपिरहेको उनले बताए । उद्योगसँग भएको थोरै परिमाण सकिएको र सरकारले समेत उपलब्ध गराउन नसकेको उनले बताए ।

अढाई अर्बको पाउडर र बटर मौज्दात

डेरी उद्योगले जाडो मौसमभरि काँचो दूध प्रशोधन गरेर निकालेको बटर र पाउडर अहिले गोदाममा थन्किएको छ । बटरलाई घिउ बनाएर बिक्री गर्ने मुख्य सिजन सुरु हुनासाथ कोरोना भाइरसको संक्रमणले बजार ठप्प भएपछि उद्योगी चिन्तित बनेका छन् । त्यस्तै, जाडो मौसममा बढी संकलन भएको दूधलाई पाउडर बनाएर राखिन्छ र चैतदेखि पाउडर घोलेर बजारमा पठाउन सुरु हुन्छ ।

बटर र पाउडरको मुख्य सिजन चैतदेखि साउनसम्म हो । ‘पाउडरको एक वर्ष र बटरको ६ महिना मात्र उपभोग्य मिति हुन्छ,’ सीताराम गोकुल मिल्कका सञ्चालक सुमित केडियाले भने, ‘२ अर्ब ६० करोड रुपैयाँको पाउडर र बटर गोदाममै थन्क्याएर राख्नुपरेको छ । पाउडर र बटर बिक्री गर्न नसक्दा चालू पुँजीकै अभाव खेप्न थालेका छौँ ।’

निजी पाउडर प्लान्ट बन्द, उद्योगीले ५० हजार लिटर दूध फाले

निजी क्षेत्रबाट सञ्चालित दुई ठूला पाउडर प्लान्ट चितवन मिल्क र सुजर डेरीले पाउडर प्लान्ट बन्द गरेका छन् । दुवैको क्षमता दैनिक करिब १–१ लाख लिटर दूध प्रशोधन गर्ने रहेको छ । डेरी उद्योग संघका निवर्तमान अध्यक्ष अरनिको राजभण्डारीले धेरै दूध संकलन भई उत्पादन भएको पाउडर राख्ने ठाउँ अभाव भएपछि दुवै उद्योग बन्द भएको जानकारी दिए । ‘पाउडर दूध राख्ने गोदाम भरिएको छ, राख्ने ठाउँ नै नभएपछि अहिले प्लान्ट बन्द छन्,’ उनले भने, ‘बजारमा दूध खपत नभएपछि किसानबाट दूध किनेर पाउडर बनाएर राख्ने गरेका छौँ ।’

काठमाडौंका डेरी उद्योगले किसानबाट संकलन गरेको दूध पोखराको सुजल डेरी र चितवन मिल्कमा पाउडर बनाउन लगेका थिए । तर, ती दुवै ठाउँमा पहिल्यै संकलन गरिएको दूध प्रशोधन हुन नपाउँदा नोक्सान भएको छ । काठमाडौं डेरीका सञ्चालक प्रदीप महर्जनले चितवन मिल्कमा ८ हजार र सुजल डेरी, पोखरामा १६ हजार लिटर दूध नष्ट भएको बताए ।

डेरी उद्योग संघका निवर्तमान अध्यक्ष अरनिको राजभण्डारीको नेपाल डेरीले ६ हजार लिटर दूध नष्ट गरेको जानकारी दिए । डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालको राजधानी डेरीले २५ हजार लिटर दूध नष्ट गरेको छ । ‘मैले ५ दिनअघि १० हजार लिटर र आइतबार थप १५ हजार लिटर दूध नष्ट गर्नुपरेको छ,’ उनले भने, ‘किसानबाट उठाएको दूध बिक्री नभएपछि अहिले यो क्षेत्र नै समस्यामा छ ।’ उनले अहिलेसम्म सबै डेरी उद्योगीले गरेर ५० हजार लिटरभन्दा बढी नष्ट गरिसकेको जानकारी दिए ।

दूध बिक्री हुन नसकेपछि दुग्ध सहकारी र उद्योगले नष्ट गर्ने क्रम बढ्न थालेका छन् । सोमबार चितवनको भरतपुर महानगरपालिका–१४, शिवनगरमा रहेको श्री जयशिव गणेश दुग्ध उत्पादक सहकारी संस्थाले किसानबाट संकलन गरेको दूध बिक्री हुन नसकेपछि ५ सय ५० लिटर नष्ट गरेको छ । संस्थाका अध्यक्ष घनश्याम केसीले ११ चैतमा संकलन गरेको दूध कुनै उद्योगले नलगेपछि नष्ट गरेको जानकारी दिए । त्यसयता किसानबाट सहकारीले दूध नै संकलन गर्न छाडेको उनले बताए । सो सहकारीमा २ सयभन्दा बढी किसान आबद्ध छन् । उनीहरूबाट दैनिक करिब १ हजार लिटर दूध संकलन हुँदै आएकोमा ११ चैतयता बन्द गरिएको छ ।

डिडिसीले तीन गुणाभन्दा बढी पाउडर बनाउँदै

निजी उद्योग बन्द भए पनि सरकार स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)को विराटनगरस्थित दुग्ध वितरण आयोजनामा रहेको एक मात्र पाउडर प्लान्टको क्षमता तीन गुणा वृद्धि गरिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले व्यावसायिक पशुपालन गरेका किसानको सबै दूध किनेर पाउडर बनाइराख्न निर्देशन दिएको थियो । ‘सामान्य अवस्थामा २०–२५ हजार लिटर दूधलाई पाउडरमा कन्भर्सन गरेर राख्ने गरेका थियौँ । अहिले दैनिक करिब ७५ हजार लिटर दूध पाउडरमा कन्भर्सन गरेर राख्दै आएका छौँ,’ डिडिसीको विराटनगर आयोजना प्रमुख गणेश यादवले भने ।

विराटनगरमा रहेको गोदाममा ६५ मेट्रिकटन पाउडर तयार भइसकेको र सो गोदाम भरिन लागेको उनले जानकारी दिए । हेटौँडामा ७ सय मेट्रिकटन ठूलो गोदाम रहेकाले त्यहाँ पाउडर लगेर राख्ने र थप दूधबाट पाउडर बनाउने प्रक्रिया अघि बढाइरहने उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *