Butwal Sandesh

Best Nepali Online Newspaper

सरगम भट्टराई लेख्नु हुन्छ – ‘म जस्तै तपाईँहरु पनि भन्नुहोस् कोरोनालाई त यसरी जित्ने हो’।

Spread the love

सुख्खा खोकी लागेको पूरै एक साता भो। हल्का ज्वरो आयो कि जस्तो पनि लाग्छ, बेला बेलामा रुघा लागेर आच्छ्युँ गर्दैछु। छातीपनि दुख्ला दुख्लाजस्तो छ। छिमेकीको अपार्टमेन्टतिर कान सोझ्याउँछु। ख्वाक ख्वाक, आच्छ्‌युँ ,आच्छ्‌युँ सुनिरहन्छु, अनि लामो श्वास फेर्छु म मात्रै होइन रहेछु भन्छु, चित्त बुझाउँछु। संसारकै अर्थ राजधानी न्युयोर्कका फ़ार्मेसीहरुमा अचेल थर्मोमिटर किन्न पाइदैन, ज्वरोमा प्रयोग गर्ने औषधि टाईलोनल पनि अभाव छ। मास्क, स्यानिटाईजर पनि नपाएको हप्तौँ भइसक्यो।

आज क्वारेन्टाइनको अठारौँ दिन बिहानको दश बजिसकेछ। मोबाईलमा अलार्म लगाउने कुरै भएन। मन लागेको बेला सुत्नु र मन लागेको बेला उठ्नु मेरो दैनिकी हो। धेरैको दैनिकी मेरैजस्तो छ। बेडरुमबाट उठेर केही मिटरको दूरीमा रहेको बाथरुमतिरको मेरो यात्रा सुरु हुन्छ। सधैँजसो भेराइटी पाकिरहने किचनको बाटो भएर म बाथरुमतर्फ हुईकिन्छु। तर किचन पनि अचेल सुनसान प्राय छ। यहाँ अचेल दालको बाहेक अरुको फ़्लेवर आउन छाडेको छ।

मलाई देखेर सधैँ मुस्कुराउने बाथरुमको ऐना अचेल मुस्कुराउन छाडेको छ। मुस्किलले बिहान बेलुका भेट हुने ऐनासंग अचेल दिनमा धेरैपटक साक्षात्कार भइरहन्छ। आफ्नै अनुहार होईन जस्तो लाग्छ। आफैलाई चिमोट्छु, मै रहेछु। झुप्प बढेका दाह्रीहरुले आफ्नै जीउ भारी बनाइराखेका छन्, तर काट्ने जाँगर पलाएको छैन। ऐनाले एक्कासि गाली गरेपछि जाँगर नलागी नलागी आज दाह्री काट्छु, ब्रश गर्छु र नुहाउँछु। बाहिर निस्कँदा ११ बजिसकेको हुन्छ। बाटोमा फर्कँदा किचन पर्छ, एक कप चिया बनाउँछु। डाईनिंग चेयरमा बसेर चियासँग समाचार डोबेर खान सुरु गर्छु।

संसारभरि फैलिएको एउटा सानो भाइरसको डरले लाखौँ, करोडौँ मान्छेहरू म जस्तै थुनिए पनि उनीहरूको मन थुनिएको छैन। अचेल आफन्तहरूसँग कुराकानी बढ्दो छ, के कस्तो छ भन्दै वहाँहरूको चासो पनि बढेको छ। भाइरसको डर बिर्सेर मायाले पुलकित छु। भाइरसकै सेरोफेरोमा मेसिनजस्तो जिन्दगी एकाएक अस्थिर बनेको छ। संसारकै व्यस्त र सम्पन्न मान्छेहरू र म मा अचेल एउटा समानता छ म जस्तै उनीहरु पनि घरमै छन्। साथी भाइसंग कुराकानी बाक्लिएको छ अचेल। हिजोमात्र समाजशास्त्री मित्र दिपेश घिमिरेसंग लामो कुराकानी भयो। समय बितेको थाहै भएन। २ घण्टाभन्दा लामो कुराकानीमा जीवनदेखि जगत र कोरोनादेखि करुणासम्मका कुरा भए।

कोरोना भाइरस लागेको शंका लागे सम्पर्क गर्ने अस्पतालहरु यसैबिच सामाजिक संजालमा मान्छेहरू झन् कृयाशील देखिइरहेका छन्। सबैको केन्द्रबिन्दु कोरोना भाईरस मै भएको छ।टिकटक, मेसेन्जर, ट्विटर र ईन्स्ट्राग्रामहरुमा नयाँ नयाँ कथ्यहरु भाईरल भएका छन्। तर कोरोनाबिरुद्धको लडाईँमा बिज्ञानले भने अझै जितेको छैन। युरोप र अमेरिकामा बैज्ञानिकहरु ज्यानमारा भाइरसको भ्याक्सिन कसरी पत्ता लगाउने भन्दै रातदिन चिन्तित छन् भने धेरै मेरा मान्छेहरू फ़ेसबुक प्रोफाईलबाट पुराना फोटोहरु उत्खनन् गर्दै बिस्तारपूर्वक ब्याख्या गरेर कमेन्ट गरिरहेका छन्।

मलाई पनि यो पीडाको बेलामा ठिकै छ नि त भन्ने लागेको छ। आफूसँग जे छ त्यही न दिने हो हैन र? बेडरुमलाई ट्रान्जिट बनाएर म गार्डेन स्टेट अर्थात बार्दली आईपुग्छु। आफ्नै हात आफ्नो सबैभन्दा ठूलो शत्रु हो कि जस्तो लाग्छ, स्यानिटाईजर दल्छु, मनको आँखाले हातमा लागेको भाइरस ठहरै भएको देख्छु। सन्तोषको श्वास फेर्छु। आहा, बार्दली त साँच्चै गार्डेन स्टेट नै थियो मेरो लागि। दिल गार्डेन गार्डेन हुन्छ। अन्तरिक्षबाट धर्ती चियाएजस्तै गरेर रेलिंग समातेर तल हेर्छु।चेरी फूलेर रंगीन देखिन्छ।केही रुखहरु प्रशवकालमा छन्, पातहरु पलाउनै आँटेका छन्। थुप्रै चराहरु उडिरहेका देखिन्छन्, उनीहरुलाई यो कोरोना भाइरसको पटक्कै डर छैन। बाटोमा छिटपुट गाडीहरु गुडिरहेका छन्।त्यो सुनसान बाटोमा गाड़ीभन्दा अघि अघि मेरो मन उडिरहेको छ।

केही हलुका ब्यायाम गर्छु, फेरि ड्रिमस्टेट अर्थात बेडरुमको बाटो हुँदै किचेनतिर लाग्छु। राईस कुकरमा भात र प्रेसर कुकरमा दाल बसाल्छु। एउटा आलु माइक्रोवेभ ओभनमा राख्छु, मिच्छु,थोरै कागती निचोर्छु र त्यसैसंग खान्छु। आफ्नो संसार भनेकै बार्दली, बेडरुम, किचन र बाथरुम भएकोले ती सबैलाई एक एकवटा राज्यको नाम दिएको छु मैले।किचेन स्टेट, बाथस्टेट, गार्डेन स्टेट र ड्रिम स्टेट आदि।हरेक राज्यमा मसंगै मेरो डायरी र कलम हुन्छ, कवितादेखि आफ्ना अनुभव त्यही डायरीमा उतार्छु। मेरो अर्को साथी मोबाईल हो, जुन २४ सै घण्टा संगै हुन्छ। एक स्टेटदेखि अर्को स्टेटमा घुमिरहन्छु।

प्रत्येक दिनका मेरा दिनचर्याहरु यिनै हुन्। कुवाको भ्यागुतोको लागि कुवा नै संसार भएजस्तै मेरा लागि यो सानो अपार्टमेंट नै संसार बनेको छ। तर यसैमा ख़ुशी छु। जीवनलाई बुझ्न पाईएको छ यही बेला। एउटा सानो भाइरसले संसार हल्लाइरहँदा बैज्ञानिकहरु कसरी यो समस्याबाट पार लगाउने भन्दै संसारकै चिन्तामा होलान् तर म आफ्नै ज्यानको चिन्तामा छु। सायद स्वार्थ यसैलाई भनिन्छ होला। हो, यो बेला म स्वार्थी भएको छु। सायद भगवान पनि धर्तीमा भए यो बेला आफूलाई बचाउँथे होला।

अन्य सम्बन्धित समाचार: सावधानी नअपनाइए २२ लाख मानिसको ज्यान जान सक्ने राष्ट्रपति ट्रम्प भनाइ मेरै वरिपरि झण्डै ७६००० ब्यक्तिलाई कोरोना भाइरसको जीवाणुले आक्रमण गरिसकेको छ। यो परीक्षण गराएपछिको तथ्यांक हो, म जस्तै सामान्य लक्षण देखिएका धेरै मान्छेहरु अहिले पनि अस्पत्ताल पुगेका छैनन्, किनकी अस्पत्ताल बिरामीहरुले खचाखच छ। यो संख्याभन्दा धेरै ठूलो संख्यामा संक्रमण छैन भन्ने अवस्था छैन।यो डायरी लेख्ने बेलासम्म अमेरिकामा ३८०० बढीको मृत्यु भईसकेको छ।

तर म डराएको छैन। जे होस्, शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउन सकारात्मक सोँचिरहन्छु, तातो पानी, सुप आदिको सेवन बढाएको छु। अदुवा, ज्वानो, दालचिनी, मेथी, मरिच, बेसार, जिराको सुप बनाएर पिइरहेको छु।संभावित ज्वरो रोक्न प्यारासिटामोलको जोहो गरेको छु।यो भन्दा अघि शरीरमा कुनै रोग नभएकोले गर्दा कोरोना भाईरस नै भएपनि यसलाई म यसैगरी लडेर निस्तेज पार्छु भन्ने कुरामा म बिष्वस्त छु। देखिएका सामान्य लक्षणहरुलाई पुरानै रुघा खोकीका लक्षणको रुपमा लिएको छु।स्थिति हिजोभन्दा खराब छैन, त्यसैले त्यति चिन्तित छैन।

कोरोनाबिरुद्धको लडाईँमा धेरैले बिजय प्राप्त गरेका खबरहरुले मलाई सान्त्वना दिईरहेका छन्। यसको भ्याक्सिनका लागि बिज्ञानले गरिरहेको प्रगतिमा खुशी छु। भाईरसको नयाँ ईपिसेन्टरको रुपमा बिकसित भएको न्युयोर्कमा भए पनि घरमै बसेर सावधानी अपनाउने हो भने बिजय प्राप्त गर्न सकिन्छ भन्ने कुरामा म ढुक्क छु। न्युयोर्कमै कोरोनाबिरुद्धको लडाई जितेका नेपाली दाजुभाइहरु मेरा प्रेरणाका स्रोत हुन्।

बैज्ञानिकहरुले छिट्टै यो रोगबिरुद्धको भ्याक्सिन पत्ता लगाउँछन् र यो भाईरस निरीह हुदै छिट्टै समाप्त हुन्छ भन्ने बिश्वाश बढेको छ, किनकी एक्काईसौ शताब्दीको मान्छे मान्छेमात्र हैन यो देवता नै हो। आखिर मान्छेले नजितेको युद्ध कुन छ र? यो लडाईँमा हामी चुपचाप घरमा बसौँ, यही बेलामा आफन्तहरूसँग डिजिटल बार्ता गरौँ, अनुभव साटौँ, सत्कर्ममा मन गरौँ। कामना गरौँ, यस्ता भाईरसले हाम्रो अमूल्य जीवन अस्तब्यस्त नबनाओस्। मानव जातिका यस्ता दुस्खका दिनहरुमा सबै मिलेर डटौँ, लडौँ।

म जस्तै तपाईँहरु पनि भन्नुहोस् कोरोनालाई त यसरी जित्ने हो। – नेपालीपत्रिकाबाट साभार।  लेखक: सरगम भट्टराई

Leave a Reply

Your email address will not be published. Required fields are marked *