खुशिको खबर : प्रदेश एकमा १००० शैया क्षमताको क्वारेन्टाइन बन्दै

कोरोना भाइरस जो खिमको पूर्व तयारीका लागि प्रदेश- १ ले एक हजार शैया क्षमताको क्वारेन्टाइन स्थल बनाउने भएको छ।

मोरङको टाँडी र सुनसरीको कोशी टप्पुमा एक हजार शैया क्षमताका दुइटा क्वारेन्टाइन स्थल निर्माण हुने सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए।

मन्त्री घिमिरेका अनुसार उक्त स्थानमा क्वारेन्टाइन निर्माण गर्न नेपाली सेनाको पूर्वी पृतनालाई जिम्मा दिइएको छ। ‘उहाँहरूले काम थालिसक्नुभएको छ,’ उनले भने।

यस्तै कोरोना शं´कास्पद व्यक्तिका लागि ६ वटा अस्पतालमा गरी २८ वटा आइसोलेसन बेड तयार रहेको उनले बताए। ‘कोशी, बिपी, नोभेल, विराट, मेची र बिएण्डसी अस्पतालमा आइसोलेसन व्यवस्था छ,’ उनले भने।

यसअघि नै प्रदेश १ को भारतसँग आवतजावत हुने नाका काँकडभिट्टा, पशुपतिनगर, भद्रपुर र विराटनगरको रानीमा स्वास्थ्य जाँचका लागि ‘हेल्थ डेस्क’ खडा गरिएको छ।

हेल्थ डेस्कमा स्वास्थ्यकर्मी अ´भाव रहेको भन्दै थप स्वास्थ्यकर्मी व्यवस्था गर्न संघीय सरकारसँग माग गरेको मन्त्री घिमिरेले बताए।

अहिले उक्त नाकाहरूमा बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म आवतजावत गर्नेहरूको स्वास्थ्य जाँच गरिँदै आएको छ।

कोरोना भाइरसबारे छलफल गर्न उच्च स्तरीय समितिका अध्यक्ष समेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आइतबार सातै प्रदेशका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीलाई डाकेका थिए।

छलफलमा सातै प्रदेशका सामाजिक विकास मन्त्रीले कोरोनाको पूर्व तयारी, सुझाव र माग पेश गरेका थिए। ‘सातै प्रदेशका मन्त्रीले आ-आफ्नो कार्ययोजना पेश गर्नुभयो,’ मन्त्री घिमिरेले भने।

प्रदेश नम्बर १ ले कोरोनाको पूर्व तयारीमा जुट्न विभिन्न समिति गठन गरेको छ। मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा निर्देशक समिति गठन भएको छ। उक्त समितिले नै कोरोनाबारे सबै निर्णय गर्नेछ।

साथै कोरोनाको विषय मात्र हेर्ने गरी ‘फोकल पर्सन’ का रूपमा डा. अशोक मेहता तोकिएका छन्। मन्त्री घिमिरेले मान्छेहरूलाई क्वारेन्टाइनबारे जानकारी नभएको भन्दै संघीय सरकारले थप सचेतना फैलाउनुपर्ने धारणा राखे। ‘कतिलाई सेल्फ क्वारेन्टाइनमा के गर्ने भन्ने ज्ञान नै छैन। सरकारले यसबारे बुझाउनुपर्छ,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *